Share |

एकसाथ भिड्दै तीन सिनेमा

काठमाडौं । नेपाली फिल्मप्रेमी दर्शकका लागि खुसीको खबर छ । खबर के भने– यो शुक्रबार उनीहरूले रोजीछाडी फिल्म हेर्न पाउने भएका छन् । त्यो पनि एउटा होइन, दुइटा पनि होइन, तीनवटा । कसको फिल्म हेर्ने ? सिंगल स्क्रिनमा हेर्ने कि मल्टिप्लेक्समा ? रोजाइ आ–आफ्नो हुने भएको छ ।

हत्तपत्त तीनवटा नयाँ नेपाली फिल्म एकैसाता रिलिज हुने गर्दैनन् । तर, भोलि शुक्रबार भने गजबै हुँदै छ । माघीको अवसरमा हलमा दर्शक खचाखच आउने परिकल्पनामा अलबिदा, आभास र तथास्तु एक–आपसमा भिड्दै छन् । अनि साथमा हिन्दी फिल्म तेबर पनि छ ।

एक–आपसमा भालेजुधाइमा उत्रिएका तीनवटै नेपाली फिल्मको बजेट औसतमा ५० लाखभन्दा बढी नै छ । यस हिसाबले यो साता डेढ करोडका नेपाली फिल्म रिलिज हुँदै छन् । डेढ करोड लगानीको फिल्मले सावाँ मात्र उठाउन पनि झन्डै पाँच करोडको व्यापार गर्नैपर्छ ।

‘मेरो फिल्म तगडा छ,’ तीनवटै फिल्मका निर्माता र निर्देशकको एउटै दाबी छ, ‘दर्शकका लागि फिल्म बनाएको हुँ । शनिबारबाहेक सातामा अरू दुई दिन बिदा छ । मजाले पैसा कमाइन्छ ।’ अलबिदाका निर्देशक लक्ष्मण रिजाल, आभासका सुुरेन्द्र पौडेल र तथास्तुका सबिर श्रेष्ठ आफ्नो फिल्म सुपरहिट हुनेमा पूर्ण विश्वस्त छन् ।

‘राम्रो फिल्मलाई दर्शकले जहिले पनि साथ दिएका छन्,’ तथास्तुका निर्मातासमेत रहेका निर्देशक सबिर भन्छन्, ‘आमनेपाली दर्शकलाई मन पर्ने फिल्म बनाएको छु । त्यसैले ढुक्क छु ।’ उनले तथास्तु राजधानीका दर्जन र मोफसलका ४५ गरी झन्डै पाँच दर्जन हलमा एकसाथ प्रदर्शन हुने दाबी गरे ।

त्यसैगरी, आभासका निर्माता तथा वितरक गोविन्द शाही आफ्नो फिल्म राजधानीका मल्टिप्लेक्ससहित मोफसलका गरी ६५ भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने बताउँछन् । अनि अलबिदाका निर्देशक लक्ष्मणले पनि आफ्नो फिल्म देशका करिब पाँच दर्जन हलमा प्रदर्शन हुने कन्फर्म भएको बताए ।

‘राजधानीका मल्टिप्लेक्ससहित मोफसलका प्रमुख स्टेसन गरी ५५ भन्दा बढी हलमा हाम्रो फिल्म लाग्छ,’ अलबिदाका निर्देशक लक्ष्मण र निर्माता हसन खान एकसाथ दाबी गर्छन्, ‘फिल्म औधी राम्रो छ । सुपरहिट हुनेमा दुईमतै छैन ।’

यता, आभासका निर्देशक सुरेन्द्र र निर्माता गोविन्द पनि आफूहरूको फिल्मले बबाल गर्ने दाबी गर्छन् । ‘हाम्रो फिल्म दामी छ । युवा पुस्ताको कथा प्रस्तुत गरेका छौँ । गीत, प्रोमो सबै हिट छन्, कलेज क्याम्पियनदेखि लिएर दर्शकसँग अन्तक्र्रियासमेत गरेर आभासको माहोल तताएका छौँ । त्यसैले कत्ति पनि डर छैन,’ उनीहरू भन्छन्, ‘राजधानीका मल्टिप्लेक्स र सिंगल थिएटरका साथै मोफसलबाट पनि हाम्रो फिल्मको डिमान्ड भएको छ । त्यसैले कुनै डाउट छैन ।’

निर्माता, निर्देशकका कुरा सुन्दा यी तीनवटै फिल्म रिलिज नहुँदै सुपरहिट भइसकेझैँ लाग्छन् । तर, दर्शकले के गर्छन्, त्यो भने हेर्न बाँकी नै छ । एकसाथ तीन फिल्म रिलिज हुनु ठीक भने होइन । तर, यी तीन फिल्मका निर्माता, निर्देशकको आ–आफ्नै दाबी छ । ‘मैले त सुटिङ सुरु गर्दैखेरि असारमै रिलिज डेट तोकेको हुँ,’ तथास्तुका सबिर भन्छन्, ‘फिल्म धेरै बनेका छन् त्यसकारण अहिले सोलो फिल्म रिलिज हुने स्थिति त छैन । तर, दुइटासम्म फिल्म एकसाथ रिलिज हुनु ठीकै हो । तीनवटा भने अलि बढी नै भएको हो ।’ उनी आफ्नो फिल्म छुट्टै विशेषतायुक्त भएको तथा सिंगल थिएटरमा मात्र रिलिज हुने भएकाले टेन्सन नभएको जिकिर गर्छन् ।

आभासका निर्माता तथा वितरक गोविन्दको दाबी पनि कम्तीको छैन । ‘मैले पहिला नै रिलिज डेट फिक्स गरेको हुँ । मेरो फिल्मसँग अरू जुन फिल्म जुधे पनि मलाई मतलब छैन । मेरो फिल्म चल्छ,’ गोविन्द भन्छन्, ‘आभासमा दम छ । मल्टिप्लेक्स र सिंगल थिएटर दुवैका दर्शकलाई मन पर्ने फिल्म बनेको छ । त्यसैले म त निस्फिक्री छु ।’

अलबिदाका निर्माता हसन पनि आफूलाई बिन्दास मान्छन् । ‘मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा अलबिदाको दबदबा छ । फिल्म त झन् बबाल बनेको छ । त्यसैले मलाई कुनै टेन्सन छैन,’ उनी भन्छन्, ‘फिल्म पूर्ण मनोरञ्जक बनेको छ । अरू फिल्मसँग अलबिदाको तुलना गर्न मिल्दैन ।’

२५ गते रिलिज हुने यी तीन फिल्मले २७ गते परेको पृथ्वीजयन्ती (एकता दिवस) र माघेसंक्रान्तिको बोनस बिदाको ठूलो आश गरेका छन् । सातामा दुइटा बोनस बिदा परेकाले नै तीन फिल्म भिड्न लागेका हुन् ।

तीन दिनको बिदाको मात्र नभई आफ्नो फिल्मका कलाकारप्रति पनि तीनै फिल्मका निर्माता, निर्देशक गर्वानुभूति गर्छन् । अलबिदामा आर्यन सिग्देल, हसन खान र अनिता आचार्य प्रमुख भूमिकामा छन् । काठमाडौंका साथै सिरहाका विभिन्न स्थानमा खिचिएको अलबिदाका पर्दा हटाऊ र जिन्दगीको दुई पल बोलका गीत चर्चामा छन् ।

आभासमा युवा पुस्ताका कलाकर्मीको बाहुल्य छ । फिल्म एडिटरका रूपमा कहलिएका सुरेन्द्र पौडेलको डेब्यु निर्देशनमा बनेको यो फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, सुनील रावल र निशा अधिकारी प्रमुख भूमिकामा छन् । आभासका तिम्रो तस्बिर र यात्रा बोलका गीत हिट छन् ।

रेखा थापा, सुवास थापा र किशोर खतिवडा अभिनीत तथास्तु एक्सन ओरिएन्टेड फिल्म हो । तथास्तुको कहिले माया स्याड फेस बोलको गीत पनि चर्चामा छ । हिम्मतवालीपछि रेखा थापाको रिलिज फिल्म भएकाले पनि आफ्नो फिल्मप्रति निर्माण युनिट अलि बढी नै विश्वस्त छ । अलबिदाका वितरक रोहित कट्टेल हुन् । आभासको वितरण निर्माता गोविन्द शाही स्वयंले गरेका छन् भने तथास्तुका राजधानी वितरक गोपाल कायस्थ र मोफसलको वितरक एफडी कम्पनी हुन् ।

लक्ष्मण सुवेदी / नयाँ पत्रिका

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box