Share |

होडबाजी लगानीको

काठमाडौं । थुप्रै चलचित्रमा नायकको भूमिका निभाएका दिलिप रायमाझी यतिबेला निकै बेफुर्सदिला छन् । तर, ब्यस्तताको कारण भने विगतको भन्दा अलि भिन्न छ । उनि मात्र नायकको भूमिकामा नभई निर्माताकै रुपमा आउँदैछन् चलचित्र 'हामी साथीभाई' बाट ।

नायक दिलिप रायमाझी निर्माता बनेको यो पहिलो पटक हो तर नायक वा नायिका आफै निर्माता बनेको नेपाली सिने दुनियाँका लागि नौलो कुरा भने होइन । अरुको सिनेमामा मुख्य भूमिका निभाएपछी आफै लगानी गर्न तम्सिनेको यतिबेला ठुलै जमात बनिसकेको छ । एक दशक पहिलेबाट यस्तो प्रवृतिको थालनी गरेका हुन-नायक भुवन केसीले । आधा दर्जन भन्दा बढि सिनेमामा मुख्य भूमिका निभाएका केसीले चलचित्र 'करोडपति', 'नेपालीबाबु', 'बाबुसाहेब' मा लगानी गरे ।
भरखरै मात्र नायक निखिल उप्रेती र नायिका सज्जा मैनालीले संयुक्त लगानीमा चलचित्र 'साबधान'को निर्माण गरे । त्यस्तै नायक आकाश अधिकारीले पनि आफ्नै लगानीमा चलचित्र क्रोधको निर्माण गरेका छन् । नायिका रेखा थापा पनि 'अजम्बरी नाता' र 'हिम्मत' गरी दुई चलचित्रकी निर्मात्री भईसकेकी छिन् । नायक लोकेन्द्र कार्की आफ्नै लगानीमा चलचित्र 'शासन'को निर्माणमा जुटेका छन् । नायिका मेलिना मानन्धरले पनि चलचत्रिमा लगानी गरेकी छन् । तर, उनको चलचित्र भने सानो पर्दाका लागि हो । नेपाल टेलिभिजनमा प्रसारण भइरहेको श्रृंखला 'करुणा'मा आफ्नै लगानीमा आफै अभिनय गरेकी छिन् ।

अभिनयबाट बटुलेको अनुभवलाई ब्यबसायिक रुप दिनु सकरात्मक ठान्नेहरु पनि छन भने एकथरीले यस्तो प्रवृतिलाई कलाकारितामा सिर्जनात्मकता भन्दा ब्यपारमुखी सोच हाबी भएको टिप्पणी गर्छन् । त्यसो त सिने क्षेत्रको खासै पृष्ठ भूमि र दक्षता नभएकाहरु पनि नायक वा नायिका बन्नैका लागि चलचित्रमा लगानी गर्नेहरु पनि थुप्रै छन् । नवल खड्का, सिमन्त उदास, देबेन्द्र बजगाँई, रामकृष्ण बजगाँई, झरना थापा लगायतकाले नायक वा नायिका बन्नैका लागि सिनेमामा लागनी गरे । उनिहरुले निर्माण गरेका अधिकाशं सिनेमाले सफलताको स्वाद चाख्न त पाएनन् नै आफ्ना बाहेक अरु सिनेमाले नायक-नायिकको भूमिकामा पत्याएनन् पनि । यस्तो प्रवृति सही हो वा गलत ? नायक-निर्माता भुवन केसीसँग यसको ठ्याक्कै जवाफ चाँही छैन रे । उनको अनुभव अलि फरक छ । सँधै अरुको सिनेमामा अभिनय गर्दा मन कुन्ठित हुन्छ रे । आफुले सोचेजस्तो प्रयोग अरुको सिनेमामा गर्न नपाएकोमा छटपटी हुन्छ रे । आफ्नै सोख र शैलीको सिनेमा बनाउन आफै लगानी गर्नु जरुरी छ भन्छन् केसी । यतिबेला उनि नयाँ चलचित्रको निर्माण तयारीमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box